हेलचेक्र्याइँका कारण कोरोना महामारीको तेस्रो लहरको डर

4.5kViews
COVID-19_Update

निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण कोरोना महामारीको तेस्रो लहर सन्निकट देखिएको छ। खोप अभियान जारी रहेकै बेला पछिल्लो एक सातामा संक्रमणदर २४.२ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जब कि साउन ५ गते संक्रमणदर २०.७ प्रतिशत मात्र थियो। १७ हजार हाराहारी व्यक्तिको परीक्षण गर्दा ४ हजार हाराहारीमा संक्रमण पुष्टि हुने गरेको छ। 

सरकारले यससँगै १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ। जसमा झापा, सिरहा, धनुषा, महोत्तरी, रौतहट, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, डोटी, अछाम र बाजुरा छन्। यस्तै २२ जिल्ला उच्च जोखिम क्षेत्रमा परेका छन्। जसमा मोरङ, सप्तरी, सर्लाही, पर्सा, सिन्धुपाल्चोक, धादिङ, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कास्की, स्याङजा, दाङ, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कालिकोट र बझाङ परेका छन्।  

मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले विगतभन्दा संक्रमणदर बढ्दै गएको बताए। ‘महामारीको उच्च जोखिमबाट गुज्रिरहेको अवस्था छ,’ सह–प्रवक्ता डा. अधिकारीले भने, ‘स्वास्थ्यका पूर्वाधार र स्वास्थ्यकर्मीले गर्ने सेवाभन्दा बढी सेवा लिन स्वास्थ्य संस्थामा आउने अवस्था हुँदै  गए व्यवस्थापन गर्न गाह्रो हुन्छ।’ 

एक संक्रमितले एक वा सोभन्दा बढीलाई कोरोना सारे त्यसको लहर बढ्दै जाने विज्ञ बताउँछन्। संक्रमणलाई संक्रमित व्यक्तिमा सीमित राख्न सके मात्र संक्रमण घट्ने हुन्छ। त्यसका लागि भरपर्दो विकल्प खोप लगाउने हो। तर, खोप केन्द्र टाढा हुँदा कतिपय खोपबाट वञ्चित भएका छन्। कतिपय ठाउँमा खोप दुरुपयोग भई लक्षित समूहले लगाउन पाएका छैनन्। ‘सरकारले घर–घरमा गएर खोप लगाइदिने रणनीति तयार गरेको छैन। कार्यविधि बनेको पनि छैन,’ सह–प्रवक्ता डा. अधिकारीले भने। 

खोप जतिसक्यो चाँडै लगाउनुपर्ने विज्ञको सुझाव छ। डा. अधिकारीका अनुसार हालसम्म मुलुकभर ८८ लाख ८२ हजार ८ सय ५० डोज प्राप्त भएको छ। त्यसमध्ये ५० लाख ४७ हजार ३ सय ५५ डोज प्रयोग भइसकेको छ। ३५ लाख ४४ हजार ४३ जना व्यक्तिले एक डोज खोप लगाइसकेका छन्। १५ लाख  ३ हजार ३ सय १२ जनाले पूर्णडोज लगाइसकेको डा. अधिकारीले बताए।
उनका अनुसार सरकारले उच्च प्राथमिकताका साथ खोप अभियान अघि बढाइरहेको छ। दोस्रो डोज लगाउनुपर्ने व्यक्तिलाई पनि चाँडै लगाउने गरी काम अघि बढाइएको छ। खोप लगाउन बाँकी १८ वर्ष माथिका जति पनि जनसंख्या छ, खोप लगाउने काम अहोरात्र भइरहेको उनले बताए।

मुलुकभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ सय ४४ छ। होम आइसोलेसनमा २६ हजार ६ सय ५२ जना छन्। संस्थागत आइसोलेसनमा २ हजार ७ सय ९२ जना उपचाररत छन्। अस्पताल र आइसोलेसन सेन्टरमा उपचाररतमध्ये ६ सय ११ जना सघन उपचार कक्ष (आईसीयू)मा छन् भने १ सय ६८ जना भेन्टिलेटरमा। क्वारेन्टाइनमा ३ सय ४९ जना रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा  पीसीआर र एन्टिजेन गरी १५ हजार ८ सय ८ परीक्षण गर्दा ३ हजार ८ सय ४० जनामा संक्रमण पुष्टि भएको छ। यो अवधिमा डिस्चार्ज हुनेको संख्या १ हजार ९ सय ९३ छ। संक्रमितमध्ये ३३ जनाको निधन भएको छ। 

गण्डकी प्रदेशमा परीक्षण गरेका हरेक तीनमध्ये दुई जनामा संक्रमण  पुष्टि हुने गरेको छ। ६२ प्रतिशत व्यक्ति संक्रमण पुष्टि भइरहेको डा. अधिकारीले बताए। त्यस्तै प्रदेश १ मा २७ .५ प्रतिशतमा  संक्रमण पुष्टि हुने गरेको छ। बागमती प्रदेशको काठमाडौं उपत्यकामा संक्रमण दिनानुदिन बढ्दो छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा पनि एकै दिन ८ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा  ५ सय ५९, ललितपुरमा २ सय ६ र भक्तपुरमा ९४ छन्। तेस्रो लहरको सम्भावना रोक्न समय भएको उल्लेख गर्दै डा. अधिकारीले  सचेतपूर्ण व्यवहार र आवश्यक तयारी गर्नुपर्ने बताए।

सम्भाव्य तेस्रो लहरको जोखिम
मुलुकमा  विभिन्न समयमा अल्फा, डेल्टा र कप्पा भेरियन्ट बढी देखिएको छ। कोरोना संक्रमणको दोस्रो लहरको सुरुवाति चरणमा अल्फा भेरियन्टले बढी प्रभाव पारेको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार अल्फालाई डेल्टा भेरियन्टले विस्थापित गरेको छ। ‘परीक्षणका लागि छानिएका शतप्रतिशत नमुनामा डेल्टा भेरियन्ट नै देखिएको छ। त्यस्तै डेल्टा म्युटेसन भएको पनि छ। जसलाई बोलिचालीको भाषामा डेल्टा प्लस भन्ने गरिएको छ,’ उनले भनिन्।

अहिलेसम्मका भाइरसमध्ये डेल्टा भेरियन्ट छिटो फैलने र बढी संक्रामक पाइएको छ। ‘पहिलो लहरभन्दा दोस्रोमा बढी प्रभावित हुनुमा डेल्टा भेरियन्ट नै कारक हो,’ डा. झाले भनिन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित ४७ वटा नमुनाको परीक्षण गर्दा डेल्टा भेरियन्ट पुष्टि भएको छ। यी नमुना असार ३० गते भारतको नयाँ दिल्लीस्थित  विश्व  स्वास्थ्य संगठनको मान्यताप्राप्त द इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायलोजी (आईजी आईबी) मा सिक्वेन्सिङका लागि पठाइएको थियो। ती नमुनाको जिनोमिक पहिचान गर्दा सबैमा डेल्टा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ। डेल्टा भेरियन्ट पुष्टि भएकामध्ये ३ वटामा थप उत्परिवर्तन भेटिएको छ।  

 यीसहित हालसम्म नेपालमा भेरियन्ट अफ कन्सर्नका रूपमा अल्फा, डेल्टा र भेरियन्ट अफ इन्ट्रेष्टका रूपमा कप्पा पुष्टि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता  डा. अधिकारीले  यी भेरियन्ट बढी संक्रामक रहेको र सबै उमेर समूहका व्यक्तिलाई असर गर्ने विभिन्न अध्ययनबाट पाइएको बताए।
डा. झाका अनुसार जनस्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने भाइरसलाई भेरियन्ट अफ कन्सर्नको संज्ञा दिइन्छ। अहिले अल्फा, बिटा, गामा र डेल्टा गरी चारवटा मात्र भेरियन्ट अफ कन्सर्नको सूचिमा छन्। अन्य भेरियन्टलाई भेरियन्ट अफ इन्ट्रेष्टमा सूचीकृत गरिएको छ। 

जनस्वास्थ्य प्र्रयोगशालाबाट १ सय ४९ वटा नमुनाको जीन सिक्वेसिङ गराइसकिएको छ। तीन महिनादेखि सिक्वेन्सिङ गराइरहेको डा. झाले जानकारी दिइन। ‘यो खर्चिलो पनि छ। एउटा जीन सिक्वेन्सिङ गर्न ६० हजारसम्म रुपैयाँ पर्न सक्छ। छिट्टै नै सरकारी प्रयोगशालाबाट नै जीन सिक्वेसिङ गर्न द्रुत ढंगले काम अघि बढाइएको छ,’ उनले भनिन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले कोरोना भाइरसले स्वरूप परिवर्तनपछि प्रदर्शन गर्ने आक्रामक व्यवहारका कारण तेस्रो लहरको संभावनालाई नकार्न नसकिने बताए। ‘यदि डेल्टा र डेल्टा प्लस भाइरसले निरन्तर पाएको  छ भने संक्रमण हुन बाँकी र खोप नलगाएका व्यक्ति संक्रमणको जोखिममा छन्’, डा. पुनले भने, ‘यो अवधिमा नयाँ (नौलो) खालको भेरियन्ट उत्पत्ति भयो वा आयो भने त्यसले पनि अर्को लहर देखिन सक्ने संभावना हुन्छ।’ 

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार बाहिरको परिदृश्य हेर्ने हो भने कोरोना भाइरसको महामारी सकिएको जसरी भीडभाड गर्ने र मास्क लगाउने कुरालाई बिर्सने प्रवृत्ति देखिएको छ। ‘एकअर्का व्यक्तिलाई संक्रमणको घेरामा राखेर गर्नुपर्ने भौतिक दूरी कायम  कुरा बिर्सने गतिविधि बढ्दै गएको छ। मानिस मानिस बीचको भेटघाट बढ्दै गएको छ,’ उनले भने, ‘सार्वजनिक स्थलमा हामी धेरै मानिसको भेटघाट हुन्छ। यस्तो अवस्थाले झन बढी  संक्रमणको जोखिममा लगिरहेको अवस्था छ।’ उनका अनुसार ‘समुदायस्तरको रोग प्रतिरोधात्मक क्षमता विकास गरिसकेको अवस्था छैन। भने, ‘यस्तो अवस्थामा संक्रमण हुँदा स्वास्थ्य झनै जोखिममा पर्ने अवस्था हुन्छ।’

कसरी गर्ने तेस्रो लहरको रोकथाम ?
स्वास्थ्य मन्त्रालय एवं स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न निकाय, पेशागत निकाय र सर्वसाधारण नागरिकबीचको सामूहिक प्रयासले मात्र संभावित तेस्रो लहरको रोकथाम एवं न्यूनीकरण गर्न सकिने विज्ञहरूको भनाइ छ। घर र अफिसमा संक्रमण आउन नदिन मैले के गर्नुपर्छ भन्नेमा सचेत हुन सके संक्रमण रोकथामका लागि प्रभावकारी हुने डा. अधिकारीको भनाइ छ। जनस्वास्थ्यका मापदण्डको कडाईका साथ पालना गर्ने  र गराउने वा बुझाउने प्रयास गर्नुपर्छ।

कोरोना भाइरसले आफ्नो जीनमा स–सानो परिवर्तन गरिरहन्छ। जसलाई म्युटेसन भनिन्छ। धेरैजसो म्युटेसनले कुनै प्रभाव नपारे पनि कहिलेकाहीँ म्युटेसनले भाइरसको चरित्रमा ठूलो बदलाव ल्याउने विज्ञ बताउँछन्। भाइरस बढी संक्रामक हुने, छिट्टै फैलन सक्ने र उपलब्ध औषधिले काम नगर्ने पनि हुन सक्छ। डा. पुनका अनुसार जीन सिक्वेन्सिङ गर्ने कार्यलाई अघि बढाउँदा भविष्यमा पनि सहज हुन्छ। जीन सिक्वेन्सिङमा भाइरसको वनावटको अध्ययन गरिन्छ। डा. पुनले भने, ‘नयाँ–नयाँ भाइरससँगको चुनौतीसँग लड्न पनि जीन सिक्वेन्सिङलाई पनि प्राथमिकता दिनुपर्छ। यसले आगामी रणनीति तय गर्न पनि सजिलो हुन्छ।’

मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले सरकारी निकायले कुन स्थानमा कसरी संक्रमण भइरहेको भन्ने तथ्यगत आधार पत्ता लगाउनुपर्ने बताए। भने, ‘संक्रमणको अहिलेको अवस्था पत्ता लगाउने र भोलिको हुन सक्ने सम्भावित अवस्थाको विश्लेषण गरी पूर्व तयारी गर्नुपर्छ।’ जनशक्तिको आँकलन एवं परिचालन,  अस्पतालमा पूर्वाधारहरू थप्ने, कन्ट्याक्ट ट्रेसिङ गर्ने,  होल्डिङ सेन्टर एवं क्वारेन्टाइन, आइसोलेसनको व्यवस्थापनमा अहिले नै ध्यान दिनुपर्ने उनको भनाइ छ। 

जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीले परीक्षणको दायरा बढाउने, नाकाहरू व्यवस्थापन गर्ने, हेल्थ डेस्कमा स्क्रिनिङ गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने बताए। ‘‘खोप अभियानलाई द्रुत गतिमा विस्तार गर्नुपर्छ। जति सक्यो धेरै जनालाई खोप लगाउनुपर्छ,’ उनले भने। 

मन्त्रालयका सह–प्रवक्ता डा. अधिकारीले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै संक्रमणलाई रोक्दै एकअर्कालाई जोगाउँदै अभियान सञ्चालन गर्नुपर्ने बताए। ‘सम्भावित तेस्रो लहरलाई मध्यनजर गरी खोप अभियानलाई अघि बढाइरहेका छौं,’ उनले भने। 

रोकथाम नियन्त्रणका लागि नागरिकले आफ्नो व्यवहारलाई परिवर्तन गर्दै जानुपर्ने उनले बताए। भने, ‘संक्रमणलाई नियन्त्रणभित्र राख्न सकिने वा नसकिने कुरा व्यवहारमै भर पर्छ।  नियन्त्रण गर्न सकिने अवस्थातर्फ व्यवहार केन्द्रीत गर्नुपर्छ।’

एकअर्कालाई संक्रमणको आशंकाको घेरामा राख्ने  र अनिवार्य मास्कको प्रयोग गर्ने, अत्यावश्यक नभई घरबाट बाहिर ननिस्कन उनले आग्रह गरे। ‘पानीले हात धुने अथवा सेनिटाइजर प्रयोग गर्ने  गर्नुपर्छ। हातले जहाँ पायो त्यहीँं  छोएपछि अनुहारमा छुने बानी बन्द गर्नुपर्छ,’ उनले भने, ‘एक व्यक्तिबाट अर्को व्यक्तिको दूरी कम्तीमा दुई मिटर टाढा राख्ने, साबुन पानी हात धुने वा सेनिटाइजर लगाउने र सक्रिय संक्रमितभित्र आफन्त, साथीभाई लगायत कोही नपरुन भन्ने किसिमले व्यवहार गर्नुपर्छ।’

‘रेड जोन’मा पाँच जिल्ला
निषेधाज्ञा खुलेपछिको लापरवाहीले लुम्बिनी प्रदेशका पाँच जिल्ला कोरोना संक्रमणको ‘रेड जोन’मा पुगेका छन्। कपिलवस्तु, प्यूठान, गुल्मी, पाल्पा र अर्घाखाँचीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खतराको सूचीमा राखेको हो। यहाँ सक्रिय संक्रमितको संख्या २ सयभन्दा माथि पुगेको छ।

स्वास्थ्य मापदण्डअनुसार पहाडी जिल्लामा सक्रिय संक्रमितको संख्या २ सयभन्दा माथि पुगे निषेधाज्ञा लगाउनुपर्छ। निषेधाज्ञा खुलेको केही समयमै फेरि संक्रमित थपिएका हुन्। अर्घाखाँचीमा संक्रिय संक्रमित ५ सयभन्दा बढी छन्। यो संख्या असार ३० गते १ सय ८९ जना मात्रै थियो। १३ दिन अवधिमै सवा ३ सय संक्रमित थपिएका हुन्। अस्पतालका बेड बिरामीले भरिएका छन्। साताअघिसम्म ६ जना मात्रै बिरामी रहेको अर्घाखाँची अस्पतालमा २६ जना भर्ना भएको अस्पतालका प्रमुख डा. कपिल गौतमले बताए। 
‘मास्क नै लगाउन छाडेपछि त संक्रमण बढ्ने नै भयो’, डा. गौतमले भने, ‘स्थानीयले लापरबाही गरिरहेको परिणाम हो यो।’ 

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले केही दिनभित्रै बैठक बसेर ठोस निर्णय लिने बताए। अर्घाखाँचीमा अहिले संक्रिय संक्रमितको संख्या ५ सय १९ छ। जसमध्ये ३० जनाको गम्भीर अवस्थामा बुटवल र काठमाडौंमा उपचार भइरहेको छ।
प्यूठानमा बुधबारसम्म संक्रिय संक्रमित २ सय ९ जना छन्। उनीहरूमध्ये ३ जना गम्भीर प्रकृतिका बिरामीको उपचार प्यूठान अस्पतालको आइसोलेसनमा भइरहेको छ। कोरोनाका कारण ६७ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय प्यूठानका कोरोना फोकल पर्सन एवं जनस्वास्थ्य अधिकृत पुस्कल श्रेष्ठले बताए। 

पीसीआर र एन्टिजेन परीक्षणबाट ३ हजार ३ सय ७८ जना पोजेटिभ देखिएका छन्। बुधबार १४ जना पोजिटिभ देखिएका छन्। झिमरुक गाउँपालिका १ सौतामारे, मल्लरानी गाउँपालिका खलंगा बजार सहित बाग्दुला, बिजुवारलगायत क्षेत्रमा कोरोना समुदाय स्तरमा फैलिएको जनस्वास्थ्य अधिकृत श्रेष्ठले बताए। 
‘बजारमा मास्क लगाउनै छाडे’, श्रेष्ठले भने, ‘निषेधाज्ञा खुलेपछि संक्रमित हुनेहरू बढ्दै गएका छन्। फेरि निषेधाज्ञाबिना कोरोना नियन्त्रण गर्न गाह्रो देखिन्छ।’ 

कोरोना नियन्त्रणमा सरोकारवाला निकायको बेवास्ताले गुल्मीमा संक्रमण दिनहुँ फैलिँदो छ। बुधबारसम्म ३ सय ९४ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा.भवानीप्रसाद शर्माले बताए। कोरोना लागेर ९२ जनाको मृत्यु भइसकेको छ। बुधबार मात्रै पीसीआरबाट सात जना र एन्टिजेन परीक्षणबाट ३१ जना गरी ३८ जना संक्रमित थपिएका छन्। जिल्लामा २ जना मात्र आइसोलेसनमा उपचाररत छन्। ३ सय ९२ जना होम आइसोलेसनमा छन्। 

जोखिममा देखिएको क्षेत्रहरूको पहिचान र त्यस क्षेत्रलाई सिल गरी आवत–जावतमा कडाई नगर्दा कोरोनाको जोखिम बढिरहेको नागरिक समाजका अध्यक्ष पदमप्रसाद पाण्डेले बताए। निषेधाज्ञा नाम मात्रैको भएको र जिल्ला प्रशासन कार्यालयसहित स्थानीय तहले जिम्मेवारीबोध नगरिरहेको उनले बताए। 
‘प्रशासनले निर्णय मात्रै गर्छ तर कार्यान्वयन गर्ने पाटोमा ध्यानै दिँदैन’, उनले भने, ‘नियमनकारी निकायहरूले नागरिकको स्वास्थ्यप्रति जिम्मेवारबोध गरेनन्।’ उनले नागरिकहरूमा नियम र कानुन नमान्ने प्रवृत्तिको पनि टिप्पणी गरे। 

पाल्पामा १५ दिन अवधिमा ५ सय २५ जना सक्रमित भएका छन्। जसमा अहिले पनि ३ सय ११ जना सक्रमित छन्। २ सय ७१ जना होम आइसोलेसनमा छन्। २३ जना भेन्टिलेटर र १७ जना अस्पतालको आइसोलेसनमा उपचार न। पाल्पामा १५ दिन अवधीमा ८ जनाको मृत्यु भएको छ। हालसम्म १ सय २१ जनाले ज्यान गुमाएका छन्। 

निषेधाज्ञा खुकुलो भए पनि संक्रमण उकालो लाग्नु चिन्ताजनक अवस्था रहेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए। पाल्पामा संक्रमणदर ३० देखि ३५ प्रतिशत छ। संक्रमितहरू परीक्षणमा नआउने, लापरवाही र अटेरीपनले सक्रमणको दर घट्न नसकेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पंन्थीले बताए।
कोरोना महामारी यथावत् रहे पनि प्रदेश २ का अधिकांश जिल्लामा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न छाडिएको छ। लापरवाही र मनमौजी व्यवहारका कारण फेरी कोरोना संक्रमण बढ्न थालेको छ। १५ दिनअघि कोरोना संक्रमितको संख्या ३७ हजार ३ सय ९१ थियो। तर, दुई साताकै अवधिमा यो संख्या ३०२ ले बढेर ३७ हजार ६ सय ९३ पुगेको सामाजिक सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाउँछ। 

यो अवधिमा धनुषामा ५८, महोत्तरीमा ३९, रौतहटमा ३२ र सिरहामा २७ जना संक्रमित थपिएका छन्। चार जनाको निधन भएको छ। प्रदेशभरि कोरोना महामारीले १ हजार २ जनाको ज्यान गइसकेको छ। आईशोलेशनमा २३ र होम आइशोलेशनमा ३ सय ५७ गरी ४२० सक्रिय संक्रमित छन्। 

निषेधाज्ञा खुुल्नासाथ कोरोना हराएझैं व्यवहार गर्ने सर्वसाधारणको प्रवृत्तिले गर्दा नयाँ संक्रमित थपिदैं गएको स्वास्थ्य निर्देशनालयका सुचना समन्वय अधिकारी प्रकाश शर्माले बताए। 
‘महामारीको जोखिम कम भएको छैन् भन्ने कुरा हामी सबैले बुझ्नुपर्दछ’, डा. प्रमोद यादवले भने, ‘पछिल्लो समय लापरवाहीले आगामी दिनमा अझ बढि जोखिम निम्त्याउने खतरा बढाएको छ। कोरोनाको दोस्रो लहरमा भएको क्षतिलाई बिर्सेर लापरवाह बन्नु नयाँ दुर्घटनाको संकेत हुन सक्छ।’ 

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको कोभिड महामारी संकट व्यवस्थापन समितिले सुरक्षा मापदण्ड पालना गरि केही क्षेत्र सञ्चालनमा रोक लगाउनु बाहेक निषेधाज्ञा खुकुलो पारेको छ। निषेधाज्ञा खुकुलो पारिएपछि सुरक्षा मापदण्ड पालना भए नभएको हेर्ने कुनै निकाय नहुँदा संक्रमण फेरि बढ्न सक्ने सम्भावना देखिएको छ।

सुदूरपश्चिममा ४६८ सक्रिय संक्रमित
सुदूरपश्चिमका नौ जिल्लामा पछिल्लो १५ दिनमा ६ सय ४९ जनामा कोरोना देखिएको छ। यो अवधिमा दुई जनाको निधन भएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जारी गरेको तथ्यांकअनुसार असार ३० गतेदेखि साउन १३ गतेसम्म ९ हजार ४ सय ७० जनाको परीक्षण (पीसीआर र एन्टिजेन) गर्दा उक्त मात्रामा कोरोना पुष्टि भएको हो। कैलालीको सेती प्रादेशिक अस्पताल, कञ्चनपुरको महाकाली अस्पताल, डोटी, बैतडी र अछाममा परीक्षण गरिएको थियो। ‘यो परीक्षणको झण्डै ७ प्रतिशत हुन्छ’, सुदूरपश्चिमका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भने। 

डा. अवस्थीले अहिले बजारहरु खुलेका, सार्वजनिक सवारी साधन पनि सञ्चालनमा आएका र सीमा क्षेत्रको आवागमन पनि खुकुलो भएकाले संक्रमण बढेको बताए।
‘सीमा नाकाबाट आएका धेरै मानिस सिधै सार्वजनिक सवारी साधनको प्रयोग गरेर गन्तब्यमा जान थालेका छन। सार्वजनिक सवारी साधनमा न्यूनतम स्वास्थ्य मापदण्डका उपाय पनि अपनाइएको छैन’, डा. अवस्थीले भने, ‘त्यसैले कोरोनाको जोखिम बढिरहेको छ।’ 

सेती प्रादेशिक अस्पतालमा कोरोनाका २० जना गम्भीर प्रकृतिका बिरामीको उपचार भइरहेको छ। तीन जना आईसीयूमा छन्। बाँकी १७ जनाको कोरोना वार्डमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।
स्ुदूरपश्चिमका नौ जिल्लामा ४ सय ६८ जना सक्रिय संक्रमित छन्। कैलालीमा २३२, कञ्चनपुरमा ९७, डडेलधुरामा ५२, बैतडीमा ३१, दार्चुलामा २५, अछाममा १०, बझाङमा ८, डोटीमा ७ र बाजुरामा ६ जना सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ।

सेती प्रादेशीकका कोभिड विभाग प्रमुख डा. शेरबहादुर कमरले अहिले भाइरस शक्तिशाली भएर आइरहेको बताए। ‘पहिलाको तुलनामा भाइरस संक्रमणदर बढी छ। छिटो सरिरहेको छ। दोस्रो लहरमा मृत्युदर पनि बढ्यो’, उनले भने, ‘त्यसैले हरेक नागरिकले सजग हुन आवश्यक छ।’
डा. कमरले अहिले सार्वजनिक यातायात, बजार, कलकारखाना र सबै क्षेत्र खुला भएपछि भौतिक दूरी कम भएकाले पनि संक्रमण बढेको बताए। ‘मास्क लगाउन कम भइसकेको छ। स्यानिटाइजर बोक्दैनन्’, उनले भने, ‘अब कोरोना सकियो झैं गरी हिँड्डुल हुन थालेको छ। यसले संक्रमण बढी नै हाल्छ।’ 

उनले सीमा क्षेत्रको आवागमनलाई व्यवस्थित बनाउनुपर्ने बताए। अहिले पनि सुदूरपश्चिमका गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुलाको पुलघाट नाकाबाट ३ हजार अनुपातमा नेपाली भारत गइरहेका छन्। १ हजार अनुपातमा नेपाल फर्किरहेका छन्। ‘भारतबाट फर्किने नेपालीलाई व्यवस्थित रूपमा गन्तव्यमा जाने व्यवस्था हुनुपर्छ’, उनले भने, ‘अनि अस्पतालमा पनि अब तयारी गर्नुपर्छ।’ 

उनले चाडबाड नजिक आइरहेकाले संक्रमण अझ बढ्ने खतरा रहेको बताए। ‘तीज, गौरा पर्व, दशैं तिहारका बेला मानिसहरु क्लोज कन्ट्याक्टमा आउँछन्। यसले संक्रमण अझ बढाउने सम्भावना छ’, उनले भने, ‘लकडाउन गरेर साध्य पनि छैन। तर, सबैले आफू पनि बचौं र अरूलाई पनि बचाऔं भन्ने भावनामा चल्ने बेला आएको छ।’
उनले सरकारले छिटो खोप लगाएर नागरिकलाई सुरक्षित पार्नुपर्ने बताए। ‘अब कोरोनाबाट बच्ने महत्वपुर्ण उपाय भनेको खोप हो, सबै उमेर समूहलाई कोरोनाको खोप लगाउन जोड गर्नुपर्छ’, उनले भने, ‘खोप प्रभावकारी देखिएको छ, खोप लगाएका व्यक्तिलाई सकेसम्म कोरोना नलाग्ने लागि हाले पनि गम्भीर नहुने कुरा अनुसन्धानले देखिएको छ।’

भारतसँगको १४४ किलोमिटर खुला सीमा, सीमावर्ती नाकाबाट लुकीछिपी भइरहेको आवागमन र समुदाय तहमा देखिएको सचेतना अभावले झापामा संक्रमण ह्वात्तै बढेको सरोकारवाला बताउँछन्। ‘निषेधाज्ञा क्रमशः खुकुलो हुँदै जाँदा संक्रमणदर बढ्दै गएको देखिएको छ’, मेची प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टंक बाराकोटीले भने, ‘संक्रमणप्रतिको बढ्दो बेवास्ताले भयावह स्थिति आउने संकेत देखिएको छ।’

डा. बाराकोटीका अनुसार स्वास्थ्य मापदण्ड पालनामा नागरिक तहबाट भइरहेको कमजोरीले संक्रमणदर नियन्त्रणबाहिर जाने खतरा बढेको छ। ‘निषेधाज्ञा चलिरहँदा राजनीतिक गतिवधिका नाममा सडकमा देखिएको अनियन्त्रित भीड पनि झापामा कोरोना संक्रमण फैलिनुको मुख्य कारण हो’, डा.बाराकोटीले भने, ‘कसले कसलाई रोक्ने छेक्ने भन्ने अवस्था रहँदासम्म संक्रमण घट्ने कल्पना गर्न सकिँदैन।’

जिल्ला स्वास्थ्य कार्यालय झापाको पछिल्लो १५ दिनको तथ्यांकले झापामा कोरोना संक्रमितको संख्या उकालो लागिरहेको देखाउँछ। असार २९ गते १४८ जनामा संक्रमण पुष्टि भएको थियो। उक्त दिन सात जनाले ज्यान गुमाएका थिए। साउन १२ गते ३१२ जनामा संक्रमण पुष्टि भयो भने तीन जनाले ज्यान गुमाए। 

‘१५ दिनको यो अवधिमा ज्यान गुमाउनेको संख्या धेरै छ’, स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन जीवन चौलागाईंले भने, ‘समुदाय तहमा संक्रमण भयावह रुपमा फैलिँदा मानवीय क्षतिका घटना पनि बढेका छन्।’ झापामा पछिल्लो १५ दिनमा ३२ सयभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। तीमध्ये ५५ जनाको मृत्यु भएको कोरोना फोकल पर्सन चौलागाईले जानकारी दिए। 

Leave a Reply